धनगढी,२४ फागुन । नेपाल रेडक्रस सोसाइटी धनगढीले ५० औ स्वर्ण जयन्ती मनाउने भएको छ । शाखाको स्थापना दिवसको अवसरमा यही फागुन २६ गते स्वण जयन्ती समारोह मनाउने सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएकोे हो ।
नेपाल रेडक्रस सोसाइटी धनगढीका मन्त्री लोकराज जोशीले ५० औ स्वर्ण जयन्तीको अवसरमा रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अर्धकदको शालिकको अनावरण समेत गरिने बताए । यस्तै सोही दिन प्रभात फेरी,सम्मानको कार्यक्रम समेत रहेको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी स्थापनाकाल २०२० देखि नै बिभिन्न मानवीय सेवामूलक कार्यहरु सञ्चालन गर्दै आईरहेको छ । नेपाल रेडक्रसको स्थापना भएको करिब ७ बर्षपछि कैलाली जिल्लामा २०२७ साल फागुन २६ गते सो शाखाको स्थापना भएको हो ।
सो शाखाले पनि स्थापनाकालदेखि नै समुदायको संकटासन्नता न्यूनीकरण कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको मन्त्री जोशीले बताए । ५० औ स्वर्ण जयन्ती समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री,सरकारका माननीय मन्त्रीहरु,प्रदेश सांसदहरु लगाएतको उपस्थिति रहने नेपाल रेडक्रस सोसाइटी धनगढीले जनाएको छ ।