धनगढी, २४ फागुन/ राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत्गृहको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । ४ दशमलव ७३ मेगावाट क्षमताको विद्युत्गृह निर्माणको काम सुयू टुण्डी जेभीले गर्दै आएको छ ।
सन् २०१७ सालमा योजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि गत वर्षदेखि मात्र विद्युत्गृह निर्माणको कामले तीव्रता पाएको थियो । आयोजनाले गत आर्थिक वर्षसम्म जसरी पनि सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना सङ्क्रमणका कारण निर्माणको काममा अवरोध हुँदा विद्युत्गृहको प्रवेशद्वारबाट वैशाखभित्रै पानी हाल्ने गरी काम अगाडि बढाइएको आयोजनाका सिनियर डी इन्जिनीयर विराट ज्ञवालीले बताए ।‘वैशाखमा पानी चलाउन सक्छौं, त्यहीअनुसार निर्माणको काम अगाडि बढेको छ,’ इन्जिनीयर ज्ञवालीले भने, ‘विद्युत् उत्पादन भने असार मसान्तसम्म गर्ने गरी योजना बनाएका छौं । आवश्यक सामग्रीहरूको आयात भइसकेको छ । अब जडान गर्ने काम हो । त्यसमा धेरै समय लाग्दैन ।’ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उनले रानी जमराअन्तर्गतको काम करीब अन्तिम चरणमा पुगेको र कुलरियाअन्तर्गतको काममा ढिलाइ भएको बताए ।
इन्जिनीयर ज्ञवालीले पुरानो स्टिमेटअनुसार १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि आयोजनाले काम गरेको बताउँदै पछि १८ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएका कारण पनि काममा केही ढिलाइ भएको उनको भनाइ छ । ‘टीकापुर क्षेत्रका काम अन्तिम चरणमा पुगेको छ । लम्की क्षेत्रमा भने धेरै काम गर्न अझै बाँकी छ,’ उनले भने ।
सुयू टुन्डी जेभीका इन्जिनीयर राज बस्नेतले विद्युत्गृहको ८५ प्रतिशत काम सम्पन्न भएको भन्दै वैशाखसम्म विद्यृत्गृहका गेटबाट पानी सप्लाइ गर्ने गरी आयोजनाको काम अगाडि बढेको बताए । ‘आयोजना र हामीले संयुक्तरुपमा बसेर कामको योजना बनाउने गर्छौं र त्यही योजनाअनुसार हामीले काम गर्ने हो,’ उनले भने, ‘असार मसान्तसम्म विद्युत्गृहको सम्पूर्ण काम सक्नेगरी काम गर्दै आएका छौं । सम्भवतः असार मसान्तसम्म विद्युत् उत्पादन गर्न हामी सफल हुन्छौं ।’ गत मङ्सिर ११ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायतका टोलीले आयोजनाको अनुगमन गरेको थियो । अनुगमनमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूधन अधिकारी, प्रधानमन्त्री विकास व्यवस्थापनविज्ञ गजेन्द्रप्रसाद थपलियालगायतको सहभागिता थियो । रासस