धनगढी, २४ फागुन/ एमाले र माओवादी केन्द्र ब्यूताउने सर्वोच्च अदालतको फैसलाले केन्द्रदेखि प्रदेश सरकारहरुलाई पनि चुनौती थपिएको छ । एमाले र माओवादीबीच एकता भएपछि प्रदेश २ बाहेक ६ प्रदेशमा मुख्यमन्त्री नेकपाबाट निर्वाचित भएका थिए ।
तर, फैसलापछि यी सबै सरकार प्रमुखहरुले विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको छ । ६ मध्ये प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनीमा तत्कालिन एमालेका नेता मुख्यमन्त्री छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा तत्कालिन माओवादीका नेता मुख्यमन्त्री पदमा छन् । प्रदेश १ र बागमतीमा एमालेको मात्रै सरकार सम्भव देखिन्छ । तर, यी दुवै प्रदेशका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको अवस्था छ ।
५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा एमाले ठूलो दल हो । एमालेसँग २५ सांसद छन् । तर, पार्टी एकता पछि १४ सांसद रहेको माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । बहुमत पुर्याउन २७ सांसदको सर्मथन आवश्यक पर्छ ।