धनगढी, फागुन २२/धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लिमा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो करिब १२ बजे अचानक भएको आगलागीले ध्वस्त बनेको हो।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शोरुमसहितको सो उद्योगमा आगलागी भएको उद्योगका सञ्चालकका आफन्त विमल बोहराले बताए। उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपुर्ति गर्ने गृहकार्य थालेका थिए।
आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको छ। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।