धनगढी, २० फागुन/ बैतडी जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका घाट पछिल्लो ११ महीनादेखि बन्द छन् । नाका बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुंगाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् ।
घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ । यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरीद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महताले बताए । घाट खुला रहँदा भारतबाट सामान आउने गरेको भए पनि हाल भारतबाट आउन छोडेको हो । उनले भने, ‘भारतबाट ल्याइएको सामान सस्तो हुने गर्दथ्यो, अहिले महँगोमा किन्नुपरेको छ ।’
तल्लोस्वराडवासी नाका वारपार गर्नका लागि महाकाली नदीमा डुंगा प्रयोग गर्छन् । यसका लागि नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानमा हाल डुंगा चल्न छोडेका हुन् । उपभोग्य सामानका लागि भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ ।
स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए ।
उनले भने, ‘घाट खोल्ने विषय अन्तरराष्ट्रिय मामिला भएकाले स्थानीय सरकारले खोल्न सक्दैन, हामीले संघीय सरकारलाई आग्रह गरेका छौँ ।’ यता घाट खोल्नका लागि सरकारले नै निर्णय गर्नुपर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
उनले भने, ‘हामीले घाट खोल्नका लागि सरकारलाई लिखितरूपमा जानकारी गराइसकेका छौँ, यस विषयमा सरकारले कुनै पनि निर्णय गरेको छैन ।’
उनले ती घाट वैधानिक नभएको समेत बताए । ‘स्थानीय तहले सजिलोका लागि घाट सञ्चालनमा लिएका हुन् तर यी घाट वैधानिक भने होइनन्’, उनले भने । वैधानिक नभए पनि पुनः सञ्चालनका लागि सरकारले नै निर्णय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण सरकारले गत चैतदेखि अन्तरराष्ट्रिय नाका बन्द गरेको थियो । सरकारले गत माघ महीनादेखि अन्तरराष्ट्रिय नाका सञ्चालन गर्ने निर्णय गरेको हो । रासस