धनगढी १८ फागुन/ कैलालीको गोदावरी नगरपालिका–५ गेटीका ३६ वर्षीय व्यापारी शिवचरण राना शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए। घटनाको भएको चार दिन पुगेको छ । तर अहिलेसम्म मृतकका परिवारले ‘हत्यारा’ पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन्।
उनको शव ४ दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। यसे बिच कैलालीका व्यापारी हत्याकाण्डमा प्रहरीले युवतीसहित ६ जना संदिग्धलाई उच्च निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला परेका गोदावरी नगरपालिका–५ का व्यापारी शिवचरण रानाको हत्यामा संलग्न भएको आशंकामा ६ जनामाथि सुक्ष्म निगरानी भइरहेको प्रहरीले बताएको छ।
‘सुरुमा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो,’ प्रहरीले भन्यो, ‘दायरा घटाउँदै अहिले ६ जनामा सिमित राखिएको छ। ती ६ जनामा केही युवती र अन्य पुरुष नै रहेका छन्। उनीहरुलाई उच्च निगरानीमा राखेर हामीले अनुसन्धान गरिरहेका छौँ। सम्भवः १/२ दिनभित्रै निष्कर्षमा पुग्छौँ होला।’ परस्त्री पनि यो घटनासँग जोडिएको प्रहरीले बताएको छ।
गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रहार गरेको पाईएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अघि बढाएको थियो।