धनगढी, फाल्गुन १६/बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी आएको छैन ।
सदरमुकाम ल्याइने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । चैनपुरमा पाइप विछ्याउने काम भइरहेको तथा पाइपको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्या भएको हो ।
लामो समयदेखि धारामा पानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । पानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य छन् ।
धारामा पानी नआउँदा आफूहरूलाई सास्ती भएको होटल व्यवसायी हर्क बोहरा बताउँछन् । कपडा धुन त जहिले पनि सेती र बाउलीखोला जान्थ्यौँ । अहिले त पिउने पानी पनि खोला बाटै ल्याउनु परेको छ, बोहराले भने, होटलमा आएका ग्राहकलाई हातमुख धुन र चर्पीमा प्रयोग गर्नका लागि सबेरै उठेर पानी बोक्नुपर्छ ।
चैनपुरमा डेरा गरी बस्ने तथा विद्यार्थीलाई पानी अभावमा समस्या भएको छ । चैनपुरमा हरेक वर्ष खानेपानीको अभाव हुँदै आएको छ ।
धारामा पानी नआउँदा सेती नदीबाट पानी ल्याउनपर्ने बाध्यता रहेको चैनपुरमा डेरागरी बस्ने सत्यवादी माविकी छात्रा निसा बोहोराले बताइन् । अघिल्लो महिनासम्म त दिनमा एक घण्टा जति पानी आउथ्यो, उनले भनिन्, अहिले त आउनै छाड्यो ।
महिनावारी रजस्वला भएको बेला आफूहरूलाई झन् समस्या हुने उनले बताइन् । सधै खोलामा गएर चिसो पानीले नुहाउँन सकिँदैन, उनले भनिन्, यस्तो समयमा स्वास्थ्यको पनि ख्याल गर्नै पर्यो । पानी नआउँदा महिलाहरू बढी मार्कामा परेको उनको भनाइ छ ।
सेती र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा स्थानीय बिरामी हुन थालेका छन् । फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढ्दै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा। सन्दीप ओखेडाले बताए ।
उनले भने, सदरमुकामका मानिसहरूमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आँउ, ज्वरो, रुघाखोकी जस्ता बिरामीको संख्या बढदै गएको छ ।
चैनपुर-कुचा सडक निमार्णका क्रममा खानेपानीको पाइप काटिदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए ।
सदरमुकाममा दुईवटा मुहानबाट पानी आउछ । दुबै मुहानबाट आउने खानेपानीको लाइन तानिएकै ठाँउमा सडक निर्माण भइरहेका छ, उनले भने, हामीले कार्यालयबाट तीन जना कर्मचारी खटाएका छौँ । तर काम गर्न समस्या भएको छ ।
खानेपानीको पाइप जडान भइरहेकाले अब केही दिनमा यो समस्या समाधान हुने उनको भनाइ छ ।