धनगढी, फाल्गुन १५/ कैलालीमा युवकको हत्या गरेको आशँकामा १२ जनालाई नियन्त्रणमा लिईएको छ । जिल्लाको गोदावरी नगरपालिका–५ का शिवचरण राना मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मृत भेटिएका रानामाथि धारिलो हतियार प्रहार भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ । हत्या आशँकामा सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।
उनले अहिले सोधपुछ गर्ने काम भइरहेको बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ।
गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।