धनगढी, ६ फागुन/ नगरविकास समिति धनगढीले लकडाउनको अवधीको ५० प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको हो ।बिहीबार बसेको नगरविकास समितिको बैठकले नगरविकास समितिका कम्प्लेक्स भवनका सटर, घरहरु भाडामा लिएर बसेका ब्यावसायी तथा सर्वसाधारणहरुको लकडाउन अवधीको भाडा छुट गर्ने निर्णय गरेको हो ।
थोरै भएपनि यसले नगरविकासको भवनमा भाडामा बसेकाहरुलाई राहत पुग्ने भएको छ नगरविकास समिति धनगढीका अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने,‘ लकडाउनका कारण नगर विकास समेत प्रभावित भएकाले पुरै छुट गर्न सकिएन ।’
अहिले नगर विकास समितिको अध्यक्ष पनि नगरप्रमुख नै रहने प्रावधान छ । सरकारले २०७६ चैत ११ गते देखि २०७७ जेठ मसान्त सम्म लकडाउन जारी गरेको थियो । धनगढी उप–महानगरपालिकाले लकडाउन अवधीको भाडादर ५० प्रतिशत छुट गर्ने निर्णय यस अघि नै गरेको नगरप्रमुख वडले बताए ।