धनगढी, फाल्गुन ६ / बैतडीमा हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको घडी भेटिएको छ।भागरथीको हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले देखाएकै स्थानमा बिहीबार घडी भेटिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथीको शव भेटिएको केही पर उनको घडी भेटिएको जानकारी दिए।
‘अभियुक्तले देखाएकै ठाउँमा भागरथीको घडी भेटिएको हो’ सिंहले भने,‘प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उक्त घडी भेटाएको छ।’
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन्।
हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो। बयानका क्रममा अभियुक्तले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कारको आरोप भने अस्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि आफन्तले भागरथीको शव अझैं बुझेका छैनन्। भागरथीको बलात्कार र हत्या दुबै दिनेशले मात्र गरेको भन्नेमा परिवार विश्वस्त छैनन्।