(कविता) (मन्दाक्रान्ता छन्द) ‘ जोरायल !
तेले अग्ला गिरिशिखरका – काखको फाँट सेरो
कर्नासाले द्रवित दिनहूँ – सम्म भू–भाग मेरो
वारी–पारी मनुजहरुका – गाउँ–बस्ती तमाम
हेर्दा मेरै नयन द्वयले – लाग्छ नैनाभिराम
।।१।।
यो धर्तीमा विगत युगका – सम्पदा छन् प्रसस्त
पाण्डव कालिन सकल सृजना – सार हुन् यी समस्त
यो माटो हो अघि समयकै – पूर्ण जलमग्न खास
पाण्डव आई जलधि यसको – गर्दिए है निकास
।।२।।
लड्दै मारे बलगरि जरा – सन्ध त्यो दैत्यलाई
त्यस्तै छोड्दा पछि निडर भै – पिर्दथ्यो लोकलाई
यै माटोकै जलसतहमा – बस्दथ्यो रे लुकेर
पानी सुक्दा यस धरणिको – भाग्न थाल्यो कुदेर
।।३।।
झट्टै दौडी पछि पछि गए – भीम त्यो दैत्य तर्फ
पक्री मारे नद युगलका – स्थान दोभान तर्फ
मारे आफ्ना प्रवल बलले – खड्गले दैत्यलाई
दुष्टात्माको कुमति सब त्यो – कर्मनासा बगाइ
।।४।।
ज्वालादेवी शिरउपर छिन् – सिंहरुढा महान
चण्डेश्वर छन् तल सतहमा – शैव झै दिव्य ध्यान
कर्नासा यी अटुट जलले – बग्दछिन् नागबेली
मान्छू मैले धरणितल यो – स्वर्णकान्ता हवेली
।।५।।
चोखो संग्लो जलकण दिने – गोमती काफली हुन्
तेलेबाटै त्वरित गतिले – उर्लिदै नित्य बग्छिन्
ज्वालादेवी निवसित धरा – काख आफ्ना सजाई
मिल्छन् दोटै पृथक नद ति – युग्म दोभान आई
।।६।।
मिल्दै बग्दा त्यसतलतिरै – कर्मनासा भयौ कि ?
मार्दा सोेही स्थलतिर जरा – सन्धले छोइयौकी
खै, के–के हो कथन अघिको – आज त्यो प्रष्ट छैन
कर्नासामा विधि सहितको – स्नान सन्ध्या हुदैन
।।७।।
डाँडा काँडा वरपर अहा ! रम्याताका निशानी
यै धर्तीमा प्रकृति सुखको – बोल्छ मीठो विहानी
कर्नासाले कलकल गरी – गीत–गाथा सुसेल्छ
मर्यादामा कलम कविको– शब्दका साथ खेल्छ
।।८।।
कर्नासाले प्रस्रवित धरा – धाम जोरायलै हो
पाण्डव् कालिन सृजित रचना – नाम जोरायलै हो
यो हो साँच्चै यस धरणिको – रम्य भू–स्वर्ग खास
छद्र्यौ मान्छे शुभकृति गरी – कर्ममा यो सुवास !
।।९।।
लेखक निर्मलकुमार भण्डारी,कैलाली