धनगढीः कैलालीको बौनिया स्थित दुर्घटनामा मृतकका आफन्तलाई क्षतिपुर्ति र न्यायको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन थालिएको छ।बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका परिवारजन तथा आफन्तले बिहिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।
राजमार्ग अवरुद्ध हुने आवागमन प्रभावित भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए। उचित क्षतिपुर्ति र न्यायको माग गर्दै राजमार्ग अबरुद्ध पारेको बताइएको छ।५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो।
दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो।