धनगढी, ५ फागुन/ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले दिनेशले नै भागरथीको हत्या गरेको देखिएको बताए।
भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपी लडाएर घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको उनले बताए।
उनका अनुसार आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी सार्वजनिक गरिएको हो।

अहिले मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट हत्या भएको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।
मृतक भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। हत्यारा पत्ता नलागी शव नबुझ्ने अडानमा परिवार छ। प्रहरीले अभियुक्त सार्वजजिक गरे पनि भागरथीका परिवारका सदस्यले भने ऊ एक्लैले हत्या गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।
