धनगढी, फाल्गुन ५/ प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाई भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ गरेको छ।
प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन्। प्रहरीले विद्यालय खुलेपछि उनको उमेर प्रमाणित गर्ने जनाएको छ।
‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन्। विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कार-हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ।’
भागरथीको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको बताइएको छ।
