धनगढी, माघ ३०/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतबाट अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका–१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६।९३ क्युफिट गोलिया काठ र १२।८६ चिरान काठ गरी १९।७९ क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
“दर्लामीले सोही वडास्थित चुईयाँ पानी नजिकै गोलखाडल सामुदायिक वनबाट गोलिया काठ र चिरान काठ चोरी लुकाएका रहेछन्”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “उनीसँगै सोही वडाका ४२ वर्षीय बुद्धि छम्तेल, २६ वर्षीय दीपक दर्लामी, १९ वर्षीय झमन खप्तडी र गोपाल पाण्डे, १८ वर्षीय नवीन राना र सुमन छम्तेललाई पक्राउ गरिएको छ।”
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सव वन डिभिजन कार्यालय दशरथपुर सुर्खेतका रेन्जर घनश्याम चपाईंको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।रासस