धनगढी, माघ २६/ सुदूरपश्चिमको स्वर्णिम सपना गाँसिएको गेटा मेडिकल कलेजको निर्माण कार्य भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना भनिएको गेटा मेडिकल कलेजको भवन संरचना निर्माणमा मात्रै मुलुकको साढे तीन अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।
वर्षौंदेखि प्रतीक्षारत सुदूरपश्चिमका करिब ३० लाख बासिन्दाको स्वास्थ्य तथा चिकित्सा शिक्षा, सेवा, रोजगार र आर्थिक समृद्धिमा दूरगामी टेवा पुर्याउन सक्ने सुन्दर सपनाको परियोजना सञ्चालनका लागि भवन निर्माणको काम भइरहेको छ ।
हालसम्म ठेक्का प्रक्रियामार्फत् विभिन्न आठवटा ठेकेदारहरुले भवन निर्माणको कामलाई तीव्रता दिइरहेका छन् । हाल मेडिकल कलेजको भीआईपी भवन, ब्वाइज र गर्ल्स होस्टेल बनाउनका लागि नयाँ टेण्डर आह्वान गरेको छ । मेडिकल कलेज इन्फ्रास्टक्चर कन्सट्रक्सन डेभलपमेन्ट कमिटी ९एमसीआईसीडीसीले माघ १६ गते खोलेको टेण्डर अहिले विवादित बनेको छ ।
एनसीबीरएमसीआईसीडीसीरभीक्यूएचर – ०७७/०७८(०२ टेण्डर बीड नम्बरको आह्वान गरिएको टेण्डरमा दुईवटा सर्टिफिकेट माग गरिएका कारण विवादित बनेको हो । ७८ करोडमा आह्वान गरिएको टेण्डरमा दुईवटा सर्टिफिकेट माग गरिएकोप्रति निर्माण व्यवसायीहरुले अहिलेको टेण्डर आह्वान नै गलत मनसायबाट भएको भन्दै आपत्ति जनाएका छन् ।
यसअघि आठवटा टेण्डर आह्वान गर्दा एउटा मात्रै सर्टिफिकेट माग गरिए पनि अहिले केही सीमित निर्माण व्यवसायीहरुलाई ठेक्का दिनका लागि एमसीआईसीडीसीले मिलोमतो गरेको उनीहरुको आरोप छ ।
यसअघि एक अर्बभन्दा बढीको मेडिकल कलेजको मुख्य भवन निर्माणका लागि टेण्डर खुल्दा पनि एउटामात्र सर्टिफिकेट माग गरिएको उदाहरण दिँदै निर्माण व्यवसायीहरुले अहिले त्योभन्दा कम मूल्यका लागि दुईवटा सर्टिफिकेट माग हुनु आपत्तिजनक भएको बताएका छन् ।
एमसीआईसीडीसीले माघ १६ गते गरेको टेण्डर आह्वानमा १० वर्षको अवधिमा उत्कृष्ट तीन वर्षको निर्माण परियोजनामा वार्षिक निर्माण लागत कम्तिमा ५० करोड हुनुपर्ने र १० वर्षको अवधिमा ६२ करोडको आरसीसी भवन परियोजना निर्माण सम्पन्न गरेका दुई वटा सर्टिफिकेट हुनुपर्ने उल्लेख छ ।
यसअघि टेण्डर आह्वान गर्दा एउटा मात्र सर्टिफिकेट माग गरिएकोमा हाल दुईवटा सर्टिफिकेट माग्नु गलत भएको निर्माण व्यवसायी महासंघ स्रोतले बताएको छ । नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट अनुसार दुईवटा सर्टिफिकेट माग्न सकिने अवस्था नभएको महासंघ स्रोतले जनाएको छ ।
नाम नखुलाउने शर्तमा मेडिकल कलेज संरचना निर्माण विकास समितिका एक अधिकारीले टेण्डर नै कुनै निश्चित व्यक्तिलाई लक्षित गरि आह्वान गरिएको बताएका छन् । उनले भने, “टेण्डर आह्वान गर्नुअघि नै केही सीमित निर्माण व्यवसायीसँगको छलफल गरिएको र कसलाई दिने भन्ने कुरामा समेत मोटामोटी छलफल भइसकेको छ । त्यसकारण यो दुईवटा सर्टिफिकेट हुनुपर्ने प्रावधान राखिएको देखिन्छ ।”
उनले नियमले यस्तो काम गर्न नमिल्नेसमेत दाबी गरेका छन् । तर, एमसीआईसीडीसीका कार्यकारी निर्देशक भीमबहादुर साउदले अनुभवी निर्माण व्यवसायीहरु टण्डर प्रक्रियामा आउन् भन्ने उद्देश्यले यो प्रावधान राखिएको बताएका छन् ।
उनले भने, “म प्राविधिक व्यक्ति होइन । तर, यसअघि खोलिएका टेण्डरहरुमा समयमा काम नसक्नेजस्ता प्राविधिक समस्या देखिएका कारण समयमै र छरितो ढंगले काम सम्पन्न गराउने उद्देश्यले यो प्रावधान राखिएको हो ।”
फागुन ६ गतेका लागि प्रि–बिड बैठक बोलाइएको छ । उक्त बैठकमा विवादित विषय र अन्य विविध कुराहरुमा छलफल गर्न सकिने कार्यकारी निर्देशक साउदले बताएका छन् ।
त्यसैगरि गेटा मेडिकल कलेजका प्रोजेक्ट इन्चार्ज सिभिल इन्जिनियर पवन रावलले सन् २०८० भित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने गरि खोलिएको ठेक्कामा कुनै मिलेमतो नभएको दाबी गरे । उनले भने, “अनुभवी व्यक्ति नै आउन् भन्ने उद्देश्यले हामीले यो प्रावधान राखेका छौं । नियम अनुसार नै टेण्डरमा यस्तो प्रावधान राखिएको हो । यसमा कुनै मिलेमतो भएको छैन । किन यसलाई विवादित बनाइएको हो भन्ने बुझ्न सकेका छैनौं ।”
निर्माण व्यवसायीहरुले फागुन १७ गते मध्यान्ह १२ बजेसम्म टेण्डर भरिसक्नुपर्ने बताइएको छ ।लेखाजोखा न्युज
