धनगढी, माघ २५/ नेपाली काँग्रेसको महिला विभागले बैतडीको दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न आग्रह गरेको छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा लबलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।
विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार विज्ञप्ति जारी गर्दै भागरथीको हत्या घटनाको अनुसन्धानमा लापरबाही नगर्न आग्रह गरेकी हुन् । महिला माथि हुने गरेका अनवरत हिंसाका श्रृखंलाले सिङ्गो राष्ट्र र समाज आतङ्कित छ । अढाई बर्ष पहिले कञ्चनपुरमा बिभत्स बलात्कार र हत्याको शिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानूनी कठघरामा उभ्याउन सकेको छैन । यसैगरी गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षिया बालिका सम्झना कामीको वलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो, ू विज्ञप्तिमा भनिएको छ । भागरथीको बलात्कारपछि हत्या भएको भन्दै विभागले घटनाको निष्पक्ष छानबिन गरि अपराधीलाई हदैसम्मको सजाय दिन सरकारसँग माग गरेको छ ।
विभागले भागरथीको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग आग्रह गरेको छ ।
महिला विभागले घटनाको सत्यतथ्य पत्ता लगाइ पीडितलाई न्याय दिलाउन खबरदारीका लागि काँग्रेस बैतडीसँग समन्वय गरि स्थलगत अवलोकनसहित आवश्यक कार्य गर्ने गरि विभागकी सदस्य राधिका सिंहलाई जिम्मेवारी पनि दिएको छ।
