धनगढी, माघ २५/ सुदूरपश्चिमको प्रमुख शहर धनगढी स्वास्थ्य क्षेत्रको केन्द्र बन्दै छ । कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने सुदूरपश्चिमवासीको बाध्यतालाई धनगढीले केही हदसम्म कम गर्दैछ । पछिल्लोसमय धनगढीमा ठूला अस्पताल सञ्चालनमा आएसँगै सुदूरपश्चिमवासीले आफ्नै ठाउँमा विशेषज्ञ सेवा पाइरहेका छन् । धनगढीमा खुलेका सुविधा–सम्पन्न निजि अस्पतालले एकातर्फ त ठूलो धनराशि बाहिरिनबाट रोक्नेछन् भने अर्कोतर्फ स्थानीयवासीले घर नजिकै सेवा प्राप्त गर्न सक्नेछन् ।
गेटा आँखा अस्पतालले पाएको सफलताले अहिले धनगढी लाखौं भारतीय नागरिकहरूको गन्तव्य पनि बनिरहेको छ । धनगढीमा पछिल्लोसमय थपिएका निसर्ग, माया मेट्रो, नोभा, कैलाली, सिपी, ओम आशा, सारथि, नवजीवन, केजि ,धर्मरुद्र जस्ता सुविधा सम्पन्न अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन् । यसबाट पहिले उस्तै सेवा लिन नेपालगञ्ज, काठमाडौं र भारतका विभिन्न शहरसम्म पुग्नुपर्ने बाध्यता अब हटेको भन्दै स्थानीयवासी पनि खुशी छन ।
केही समयअघि मात्रै सञ्चालनमा आएको निसर्ग अस्पतालले सुदूरपश्चिममै पहिलोपटक भेन्टिलेटर, आईसीयू, एनआईसीयूलगायत बालरोग, स्त्री रोग, सर्जरी, अर्थोपेडिक, फिजिसियन चिकित्सकहरूबाट विशेषज्ञ सेवा दिइरहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले बताए । उनी अस्पतालले नाफामुखी मात्रै नभई सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेको बताउँछन् । अस्पतालले भारतका शहरहरू भन्दा गुणस्तरीय सेवा सर्वसुलभ दरमा उपलब्ध गराइरहेको उनको दाबी छ ।
शुरूमा पाँच करोडको लागतमा सञ्चालनमा आएको अस्पतालमा अहिले लगानी आठ करोडभन्दा बढी पुगिसकेको छ ।
मायामेट्रो अस्पतालले १४ जना विशेषज्ञ चिकित्सकको सेवाका साथमा सिटी स्क्यान, आईसीयु र एनआईसीयु सेवा दिइरहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए। अस्पताल स्थापना गर्न १५ करोड लगानी गरिएको उनको भनाइ छ । अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई छुट दिँदै आएको र एउटै टिकटले सबै चिकित्सकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको अध्यक्ष साउँदले बताए । त्यस्तै ,५ करोडको लगानीमा स्थापना गरीएको सारथी अस्पतालमा आईसियु सहितको बिशेषज्ञ सेवा दिईरहेको छ । अस्पतालका प्रबन्धक बेदप्रकाश जोशीका अनुसार ३ शैयाको आईसियु र १ शैयाको भेन्टिलेटर सहित स्त्री रोग,मानसिक रोगका साथै सस्तो सुलभ रुपमा गुणस्तरीय बिशेषज्ञ सेवा दिईरहेको छ ।
पछिल्लोसमय अस्पतालबाट दिने सेवा सुविधा बढ्दै जानु र विशेषज्ञ सेवा स्थानीयस्तरमै पाइँदा खुशी लागेको बिरामी र उनीहरूका आफन्तहरू बताउँछन् ।
त्यस्तै सिपी अस्पतालले सस्तो दरमा एपेन्डिसाइटिसको उपचार उपलब्ध गराएपछि बिरामीहरूले स्थानीयस्तरमै उपचार सेवा पाएको अस्पतालका सञ्चालक डा चन्द्र प्रकाश पाण्डेयले बताए । यो अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री रोग आदिमा विशेषज्ञ सेवा पनि प्रदान गरिरहेको छ ।प्रदेशका नौ वटै जिल्लाको रेफरल सेन्टरको रुपमा रहेको सेती अञ्चल अस्पताल सहित नीजि क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसंगै विगतका भन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको हो ।
पछिल्लो समय न्युरो, कार्डियो र क्यान्सर बाहेकका बिरामीको उपचार धनगढीमै सम्भव भएपछि स्वास्थ्य सेवामाथिको परनिर्भरता पनि कम हुदै गएको छ। यहाँका अस्पतालहरुले आन्तरिक व्यवस्थापन गर्दै थप स्तरीय सेवा प्रदान गर्ने तयारी गरेका छन्। धनगढीमा नयाँ खुलेका निजी अस्पतालहरूमा ३०० शैय्या उपलब्ध छ र प्रायः सबै अस्पतालमा आईसियु सुविधा छ ।
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन मेडिकल कलेज पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।