धनगढी, माघ २३/ विभिन्न सात विद्यार्थी संगठनहरुले बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा रहेको सनातन धर्म माध्यमिक विद्यालयकी छात्रा भागरथी भट्टको हत्या घटना छानविनको माग गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातानित्रक विद्यार्थी संघ, समाजवादी विदार्थी युनियन, अखिल क्रान्तिकारी अखिल छैंटौंले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर हत्या घटना छानविनको माग गरेका हुन् । नेपाल विद्यार्थी संघ वैतडीका जिल्ला अध्यक्ष कपिल केसीले पनि वि१प्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।
बुधवार घरबाट विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेकी थिइन् । परिवारजनले उनको बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ ।
“घटनाको सत्यतथ्य छानविन गरि सारा मानवीय मूल्य मान्यतामाथि चुनौती खडा गर्ने यस्तो हिंस्रक र आपराधिक घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याइ हदै सम्मको कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।
