धनगढी, माघ १९/ सत्तारुढ दलका नेताहरुको गिरफ्तारीपश्चात म्यानमारको सेनाले सत्ता हत्याउँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसअघि सेनाले आज बिहानै सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी०की नेतृ एवम् स्टेट काउन्सिलर आन साङ सुकी, राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरेको थियो । अहिले राजधानी नेपिदअ र रंगुन शहरका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको छ।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्ने तय भएको थियो । तर सेनाले भने यो बैठक नराख्न आग्रह गरिरहेको थियो।
गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त सिट जिते पछि सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको थियो। सो निर्वाचनमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पार्दा सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।
सन् १९६२ देखि २०११ सम्म सैनिक शासन रहेको म्यानमारमा सन् २०१५ को चुनावपछि त्यहाँको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो।