माघ १५ धनगढी, कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई तरकारी हबको रूपमा विकास गर्न थालिएको छ । स्वदेशी तरकारी उत्पादन गर्दै आयात प्रतिस्थापन गर्ने र नेपाली कृषकहरूको जीवन स्तर उकास्ने उद्देश्यले तरकारी हब निर्माण गर्न थालिएको हो । यस्का लागि कृषकहरूको अवस्था बुझ्ने तथा उनीहरूलाई आर्थिक र प्राविधिक सहयोग गर्ने काम सुरु गरिएको छ ।
कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था तथा किसान परियोजना २, को आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको नगर प्रमुख कर्ण बहादुर हमालले जनकारी दिए । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कार्य योजना सहित अघि बढेका छौँ । उनले भने,… “नगरलाई तरकारी हबको रूपमा विकास गर्न ७ वटै वडाका कृषकहरूलाई आर्थिक तथा प्राविधिक सहयोग समेत प्रदान गरिएको छ । सहयोगबाट कृषकहरूले तरकारी खेती समेत सुरु गरेका छन् ।”
तरकारी खेती गर्दा आम्दानी समेत राम्रो हुने भएकाले अधिकांश कृषकहरूले तरकारी खेती तर्फ चासो बढाएका छन् । तरकारी खेती गर्दा उत्पादन समेत धेरै लिन सकिने भएकाले पनि आफूहरू यतारित पे्ररित भएको किसानहरु बताउँछन् । तरकारीमा आफूहरू आत्मनिर्भर हुने प्रयास गरे पनि आर्थिक तथा प्राविधिक समस्या प्रमुख रूपमा रहेको स्थानीय कृषक पतिराम चौधरीको भनाई छ ।
कृषकहरूलाई कृषि पेसामा आत्मनिभर बनाउन आफूहरूले महत्त्वपूर्ण सहयोग गर्दै चार जना कृषि प्राविधिकहरू परिचालन गरी कृषकहरूलाई जोखिमबाट बचाउने काम गरेको सहकारी संस्थाका प्रमुख गणेश बहादुर चन्दले बताए । कृषकहरूका उत्पादनले उपयुक्त बजार नपाएका कारण समस्या झेल्नु परेको भन्दै प्रमुख चन्दले विभिन्न ठाउँमा हाटबजार स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको कुरामा समेत जोड दिएका छन् ।