माघ १५ धनगढी, कैलालीमा लागु औषध सहित एक जना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा बजारमा भुपू सैनिक क्लिनिक सञ्चालन गर्दै आएका ३८ बर्सिया लाल बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
लागु औषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखड र बौनियाँको प्रहरी टोलीले उनलाई बुधवार क्लिनिकबाटै पक्राउ गरेको हो । उनको क्लिनिकबाट ७ सय ४० क्याप्सुल ट्राम डोल, १ सय १० क्याप्सुल ओपिडोल र ६ सय ७५ ट्याब्लेट ए बिल नाम लेखिएको औषधी समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । पक्राउ परेका विश्वकर्मालाई लागु औषध कारोबारमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।