धनगढी, माघ १४/ बझाङ्गको छबिसपाथिभेरा गाउँपालिकामा भएको युवक हत्याकाण्डमा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
छबिसपाथिभेरा ३ का अमृत सिंहको हत्यामा संलग्नलाइ कारवाही गरिनुपर्ने भन्दै नेपाल बिधार्थी संघ र तरुण दल बझाङले ‘यसपालीको हैजा, केपी ओली लैजा’ भन्दै प्रदर्शन गरेका हुन्। नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित त योजनाबद्ध तरिकाले हत्या गरेको प्रदर्शनकारीहरुको भनाइ रहेको छ।
हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए।
सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन्।
हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकलको प्रयोग
उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सरकारी मोटरसाइकलमा आएका नेकपा कार्यकर्ताहरूले खुँडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए।
धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले बताए।
उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्। यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।