काठमाडौं,माघ १२/ बालुवाटार मार्चका क्रममा समोबार नागरिक अगुवामाथि पानीको फोहोरा हानिएको छ ।
कमल पोखरीबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म र्याली निकालिएको थियो । उक्त र्यालीमा प्रहरीले दमन गरेको थियो । नागरिक अगुवाहरुमाथि प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै फोहोर पानीको फोहरा बर्साएको छ ।
प्रहरीको आक्रमणमा केहि अभियन्ताहरु घाइते भएका छन् । हठात् प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखकलगायतका अभियन्ताहरु सोमबारको प्रदर्शनमा सहभागी थिए ।
शान्तिपूर्णरुपमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा केहि प्रदर्शनकारी घाइते भएका हुन् । बालुवाटारमा प्रदर्शनका क्रममा सरकारले बर्बर दमन गरेको भन्दै उनले तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् ।
“हामीले लोकतान्त्रिक अधिकार प्रयोग गरी जिताएको सेवकले नै हामीमाथि बर्बर दमन गर्यो । हामी शान्तिपूर्ण आन्दोलन गर्छौं भनेका थियौँ । तर, बर्बर दमन गरियो । अब साथीहरू तेस्रो जनआन्दोलन सुरु भयो,” पत्रकार वाग्लेले भने ।
यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । “आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,” उनले भने, “घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।”
