कैलाली,माघ ११/ कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको छ।कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा दुई करोड बढी राजश्व सङ्कलन गरेको छ।
खक्रौला भन्सार कार्यालयले आव २०७७र७८ मा ६ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए। “हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर सवा दुई करोड बढी राजश्व सङ्कलन भएको छ”, भन्सार कार्यालय प्रमुख शाहले भने, “हामीले सीमामा कडाइ गरेका छौँ, हामीले भन्सार छली रोक्न रणनीतिकरूपमा काम गरिरहेका छौँ, जसले राजश्वमा सुधार आएको छ।”
कोरोना सङ्क्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ।पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको उनको भनाइ छ।रासस