धनगढी ३ माघ/ हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व शनिबार पनि सुदूरमा धुमधामसँग मनाइन थालिएको छ । सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका महिलाहरु स्वतन्त्रताको पर्वका रुपमा उत्तरायणी मनाउने गर्छन् । शनिबार पनि सुदूरपश्चिमका चेलीहरु उत्तरायणी भन्दै ‘कुनकेउलो’ ९वनभोज० खान व्यस्त छन् । यहाँ हरेक वर्ष उत्तरायणीका दिन चेलीबेटीलेघट कुनकेउलो खाने गरिन्छ ।
उत्तरायणीका दिन महिलाहरु दिनभरी केही काम नगरी वनभोज जाने र डेउडा खेल्ने गर्छन् । माघी मनाउन माइती आएका प्रायः दिदीबहिनी र अविवाहित चेलीबेटीहरु मिलेर जंगलमा गई कुनकेउलो खाने गर्छन् । उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका महिलाहरु घरधन्दाको काम अघिल्लो दिनमै सक्ने गर्छन् । ‘उत्तरायणीका दिन केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ,’ बडिकेदार–१, डाङ डोटीकी मनुदेवी कलेलले भनिन्,‘त्यसैले घरधन्दाको सबै काम अघिल्लो दिन नै सक्दछौँ ।’ उत्तरायणीका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन् । ‘यो दिनलाई हामीले महिला स्वतन्त्रताको दिवसका रुपमा मनाउने गरेका छौँ,’ उनले भनिन् । उत्तरायणका दिन महिलाले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको मदन पुरस्कार विजेता तथा साहित्यकार रामलाल जोशी बताउँछन् । उनले भने,‘उत्तरायणका दिन महिलाले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रुपमा समेत हेरिएको हो ।’ यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै देउडा खेल्ने गरिएको उनले बताए ।
आजका दिन सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रुपमा मनाउने गरिएको ज्योतिषी मनिराज जोशी बताउँछन् । उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रुपमा लिइएको उनी बताउँछन् । ‘यो पर्व परम्परागत रुपमा चलिआएको पर्व हो,’ उनले भने,‘यसमा चेलीबेटीहरु स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर देउडा खेल्ने गर्छन् ।’
उत्तरायणीका सम्बन्धमा कुनै शास्त्रमा केही नलेखिएको भए पनि यो पहाडी जिल्लामा परम्परागत रुपमा चल्दै आएकाले चेलीबेटी ९महिला०को पर्वका रुपमा रहेको ज्योतिषी जोशीले बताए । उत्तरायणीका दिन प्रायः माइतीघर आएका चेलीबेटी र अविवाहित चेलीहरु मिली वनभोज जाने र सुख दुःखका गीत गाउँदै देउडा खेल्ने गर्छन् । वनभोजमा प्रायः दालभात र डुब्का ९मासको दालबाट बनेको तिहुन खाने गर्छन् ।
