धनगढी – चौमालामा माध्यमिक शिक्षाको बिरुवा रोप्ने समाजसेवी स्वर्गीय दीपबहादुर चन्दको सम्झनामा सरस्वतीको मन्दिर निर्माण भएको छ । उनका छोरा बुहारी चक्र बहादुर चन्द र सुशीला चन्दको लगानीमा चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा निर्माण भएको सरस्वतीको मन्दिरको आज एक समारोहका बिच उदघाटन भएको छ ।
आज चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा निर्माणकर्ता चक्र बहादुर चन्द र एल आर आई स्कुल काठमाण्डौंका संस्थापक शिवराज पन्तले संयुक्त रुपमा उदघाटन गर्नु भएको छ । गौरीगंगा नगरपालिका वडा न.१ घर भई हाल न्युजल्यान्डमा बस्दै आउनु भएका चन्दले आफ्ना बुबा स्वर्गीय दीपबहादुर चन्द, आमा स्वर्गीय पद्मा देवी चन्द, भाइ स्वर्गीय तेज विक्रम चन्द को स्मृतिमा १० लाख लगानीमा मन्दिर निर्माण गरेको बताउनु भयो ।
मन्दिर उदघाटन समारोहमा बोल्दै चन्दले भन्नु भयो, ‘बुवाले चौमालामा शिक्षाको बिरुवा रोप्नु भएको थियो । चौमालामा रहेको मालिका माविलाई केही हदसम्म माथि उकास्न टेवा पुर्याउनु भएको थियो । वहाँ शैक्षिक व्यक्तित्व भएकाले उच्च शिक्षा हासिल गर्ने ठाउँ चौमालामा स्थापना भएको चौमाला बहुमुखी क्याम्पसमा मैले वहाँको सम्झनामा मन्दिर निर्माण गर्ने प्रण गरेको हुँ ।’ उहाँले अगाडी थप्नु भयो ‘बुवाले जिन्दगी पुरै शिक्षा र समाजसेवामा समर्पित गर्नु भयो । वहाँले गरेका क्रियाकलापबाट अरूलाई पनि प्रेरणा मिलोस् वहाँको कृति स्मरण रहोस् भन्ने हेतुले मन्दिर निर्माण गरेका हौँ ।’
चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशीले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माणका लागि भएका चक्रबहादुर चन्दका परिवारप्रति आभार प्रकट गर्नु भयो । चन्दका बुवा स्वर्गीय दिपबहादुर चन्दको अथक प्रयासमा मालिका माविलाई आधारभूत विद्यालयबाट माध्यमिक शिक्षा चौमालामै पढ्न पाउने व्यवस्था भएको सो अवसरमा आफ्नो कान्छो भाइ दिपक जोशीले बेला बखत वहाँको देनको चर्चा गर्दै आएको उल्लेख गर्नु भयो ! आफ्नो अधिक समय समाजसेवामा बिताउनु भएका स्वर्गीय दीपबहादुर चन्द चौमालाको लागि एक प्रेरणाका श्रोत भएको जोशीले बताउनु भयो । ‘वहाँका छोराले आज यस्तो महान् कार्य गर्नु भयो यस प्रति हामी आभारी छौँ ।’ जोशीले भन्नु भयो ।
क्याम्पस यस क्षेत्रका तमामौ तमाम समाजसेवी दानवीरहरुको लगानीमा निर्माण गर्न सम्भव भएको उल्लेख गर्दै अध्यक्ष जोशीले क्याम्पस निर्माण पछि पनि सञ्चालनमा बेला बखत विभिन्न सल्लाह सुझाब संगै क्याम्पसलाई निशुल्क बस प्रदान गर्नु हुने एल आर आई जस्तो नेपालको उत्कृष्ट विद्यालय एलाआरआईका संस्थापक शिवराज पन्तको सहयोग अतुलनीय रहेको प्रशंसा गर्नु भएको थियो ।
चौमाला बहुमुखी क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष देवीदत्त कडेलले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख मिनदत्त ढुंगानाले गर्नु भएको थियो! कार्यक्रममा एलआरआईका संस्थापकद्वय शिवराज पन्त र रेखा पन्त,पुर्व स्वास्थ्य महानिर्देशक डा. लक्ष्मिराज पाठक, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख गिरिराज कडायत,गौरीगंगा नगरपालिका वडा न.१ का अध्यक्ष जगतराम चौधरी , क्याम्पस सञ्चालक समितीका सदस्य पदम सिंह सिङाल लगायतको उपस्थिति रहेको थियो ।