धनगढी, १८ पुस/ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहले क्यालेन्डर पात्रो नहेरि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको पाइएको छ । प्रचण्ड–नेपाल समूहले शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलन पात्रो नहेरि तय गरेको पाइएको परेको हो ।
दाहाल–नेपाल समूहले शनिबार पत्रकार सम्मेलन गरेर प्रतिनिधि सभा विघटनविरुद्ध ३३ दिने दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा वितरण गरिएको ‘दोस्रो चरणको संघर्षको कार्यक्रम’ मा पुसमा हुँदै नभएको दिनमा पनि आन्दोलन गरिने उल्लेख छ ।
‘दोस्रो चरणको संघर्षको कार्यक्रम’ अन्तर्गत नेकपाको दाहाल–नेपाल समूहले पुस ३० गते पनि देशव्यापी प्रदर्शन गरिने भनेको छ । तर, यो वर्षको पुस महिना २९ को छ । दाहाल–नेपाल समूहले पुस २९ गते निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला गरिने जनाएको छ ।
यस्तै पुस ३० गते ‘देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा’ गरिने कार्यक्रम तय गरिएको छ । पुस महिनामा ३० गते हुँदै नभएपछि दाहाल–नेपालले उक्त दिनका लागि तय गरेको कार्यक्रम माघमा गर्नुपर्ने छ अथवा उक्त दिनका लागि तय गरिएको कार्यक्रम रद्द गर्नुपर्ने छ ।
‘पुस ३०’ पछि सिधै माघ ५ गतेका लागि संघर्षको कार्यक्रम घोषणा गरिएका कारण पनि पुस ३० गते गरिने भनिएको ‘देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा’ माघ ५ गते अघि गरिने सम्भावना भने देखिन्छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारविरुद्ध आन्दोलन गर्नका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठन गरेको संघर्ष समितिले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।
आन्दोलन अन्तर्गत वडा तहदेखि संघीय राजधानीसम्ममा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । दोस्रो चरणका कार्यक्रमहरु पुस २० गतेदेखि माघ २३ गतेसम्मका लागि थय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पुस १४ पहिलो चरणको आन्दोलनअन्तरर्गत देशव्यापी विरोध प्रदर्शन गरेको थियो । पुस १५ गते बसेको उक्त समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारविरुद्धको संघर्षका लागि अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी जनता समाजवादी पार्टी ९जसपा० सँग सरकारविरुद्धको संघर्षका लागि ठोस सहमति नजुटेपछि प्रचण्ड–नेपाल समूहले एक्लै संघर्षलाई अगाडि बढाउने निर्णय गरेको स्रोतको भनाइ छ ।