धनगढी, १६ पुस/ नेकपाको दुई तिहाईको सरकार मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा दुर्घटनामा परेको बताएका छन् । नेपाली काँग्रेस कैलालीले बिहिबार धनगढीमा आयोजना गरेको ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बोल्दै बक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रमको अधिकांस वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै उनले मेलमिलापको नीति काँग्रेसबाट सिक्न समेत आग्रह गरेका थिए । वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म आइपुगेको उनीहरुको भनाई छ ।
नेपाली काँग्रेस कैलाली सहसभापति बिरुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमख अतिथी काँग्रेस नेता तथा पुर्वमन्त्री रामजनम चौधरी रहेका थिए । पुर्वराज्य मन्त्री दीर्घराज भाट, पुर्वराज्यमन्त्री चन्द्रसिह भट्टराई र हिरादत्त भट्ट बिशिष्ठ अतिथी रहेको कार्यक्रममा काँग्रेस नेताहरु जनक चौधरी, टेकबहादुर रैका, दिव्यस्वरी शाह, नारायणदत्त मिश्र, नारायणदत्त भट्ट, क्षितीज भण्डारी, हरिष खड्का, नृपबहादुर वड र कृष्णबहादुर महराले बिपीको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको र व्यवहारमा लागु गर्न आग्रह गरेका थिए ।
कलेशु चौधरी चौधरीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन पार्टी सचिव दीपकराज जोशीले गरेका थिए । २०३३ पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
