झलक दवाडी, धनगढी,१४ पुस,/कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का सेरुवा वडलाई घरायसी खर्चका लागि अहिले अरु कहाँ हात फैलाउनु पर्ने समस्या छैन । ठेलामा तरकारी फलफूल व्यापार गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो । बैदेशिक रोजगारका शिलशिलामा भारतको गुजरातमा थुप्रै हण्डर खाएका उनि स्वोदेशमै व्यवशाय गर्न पाउदा आनन्द महशुस भएको बताउछन् ।
धन कमाउने सपनामा चालिस वर्षदेखिको भारतमै काम गर्दै आएका वड कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा परे । घरको आर्थिक अवस्था कमजोर भएपछि कामको शिलशिलामा भारत पुगेका उनि स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसकेका छन् । ‘विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनतमा पनि गुजारा चलाउन सकिँदो रैछ भन्ने बल्ल थाहा भयो’ उनले भने, ‘परिवारमा बसेर गाउँमै व्यवसाय गरेर जीविका चलाउने गरी अघि बढेको छु ।’
ठेलामै व्यापार गरेर महिनामा चालिस पचास हजार रुपैयाँसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बनेका सेरुवा वड घर परिवारको गुजारा चलाउन लामो समय भारतमा बस्दै आएकोमा कोरोनाको कहर पछिको घर बसाईले कहिल्यै भारत नजाने गरि घर बसाईदियो ।
आज पाच हजारभन्दा कमको लगानीमा महेन्द्रनगरमा दैनिक एक हजार -पन्ध्र सय मुनाफा मात्रै गर्ने सेरुवा भन्छन्, ‘हिजो भारत नगएर यस्तै काम गर्या भए महेन्द्रनगरको कुनै सटरमा व्यावशाय गर्नेहरु मध्येमा मा पनि पर्ने थिए ।’उनको ठेला वरपर बन्दा, खुर्सानी, साग, अदुवा किन्न आउने ग्राहकको घुइचो लागेको देख्न सकिन्छ । सेरुवा दाइको नामले परिचित हँसिला सेरुवाको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ ।
भिमदत्त नगरपालिकामा जन्मिएका सेरुवाले भारत गएर टन्न पैसा कमाउने सपना देखे । ऋणपान गरेर भारत गए पनि । टोल छर छिमेक कहिल्यै नछोडेका उनले भारत जादाँ , देश, आमा, बाबा, आफन्त, साथीभाइ, सबै छाडे । पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरूले त्यागेकै थिए । बनबासा कट्नु अघि सम्म पनि उनलाई भारत गएर आएका नेपालीको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, भारतमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् । उनका अनुसार गाडी गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नुपर्दाको ग्लानि अनि, केले हो केले थिचेकोजस्तो निस्सासिएकोजस्तो अनुभूति भएको थियो ।
‘कसम मलाई सानोमा दाजुभाइ सिरकले थिचिखेल्थ्यौँ, त्यतिखेर अलि धेरैबेर सिरकले थिचिँदाजस्तो उकुसमुकुस हुन्थ्यो त्यस्तै भयो,’ उनले विगत सम्झँदै भने । तर, पैसा कमाउने र धनी मान्छे बन्ने सपना विपनाभन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि सेरुवालाई सुरुमा एक दुई बर्ष कटाउन उकुसमुकुसले छेकेन । पैसा चिनिदै गयो परिवारको जिम्मेवारी थपिदै गयो । एक दुइ गर्दै चालिस बर्ष बिताए उनले भारतमा । केही पैसा कमाए पनि, तर त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । उनी भन्छन्, ‘रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो । ‘पसिना मात्र होइन मैले धेरै गाग्री आँसु पनि बगाएको छु भारतमा,’ सरुवाले भावुक हुँदै भने, ‘ नेपालमै केही गर्ने सोचसहित कोरोना माहमारिका बीच म नेपाल फर्किए ।’
त्यसो त भारत हुँदा उनलाई नेपालमै गर्न सकिने थुप्रै कामहरूको ‘आइडिया’ नफुरेको होइन, तर केचाहिँ गर्ने निक्र्योल भने हुन सकेको थिएन । यसैविच पाँच दिने उद्यमशीलता तालिम दिन थालेको थाहा पाए । उनी पनि तालिममा सहभागी भए । युएनडिपीको आर्थिक सहयोगमा भिमदत्त नगरपालिकाको समन्वयमा डिमेघा कैलालीले कोभिड प्रभावितका लागि सामाजिक आर्थिक पुनरुत्थान कार्यक्रम सन्चालन अन्तरगत ठेला मात्रै दिएर व्यबसाय सुरु गरेको डिमेगा कैलालीका प्रमुख दिपक बिष्टले बताए।कोभिड प्रभावितका लागि राहत हुने भन्दै सन्चालन गरिएको तालिमले वडलाई व्यबसायमा रमाउन बाताबरण बनाएको डिमेगा कैलालीका प्रमुख बिष्टले बताए।
त्यही तालिम लिएर ठेला व्यवसाय गर्न थालेपछि उनको भाग्य खुलेको हो । उनी कोरोना कहरले रोजगारी गुमाउँदा जति दुःखी भएका थिए । त्यही कहरले आफ्नै घरमा बसेर पनि मोहर कमाईन्छ हैं भन्ने कुराको अनुभुती गर्न पाउँदा त्यो भन्दा अझ बढी खुशी छन् । कोभिड १९ प्रभावितका लागि आर्थिक सामाजिक रिकभरी परियोजना अन्तर्गत उनले ठेला सहयोग पाए ।त्यस नगरका करिब दुइ सय बढि परीवारले बजारको नयाँ तर ताजा स्वादिला तरकारी खोज्छ । गाउँमा भएकाहरुको बजारमा गएर तरकारी किन्ने अवस्था नभएपछी ठेलामा तरकारी व्यवशाय फस्टाउने उनको आकलन सहित काम सुरु गरे ।
आज त्यही ठेलाले सेरुवाको धेरै पैसा कमाउने सपना पूरा गर्दै छ र परिवारका चाहनाहरू पनि । सेरुवादाइको ठेलाबाट दैनिक साँझ ८ बजेसम्ममा करिब डेढ सय ग्राहक सन्तुष्ट बन्ने गर्छन् । यो सबै काममा सहयोग गर्छिन् उनकी श्रीमती र छोरा । ‘फ्रन्टमा म छु ब्याकग्राउन्डमा मेरी वाइफ,’ सेरुवाले नेपालीमा अंग्रेजी मिसाएर भने । उनकी श्रीमती भने ठेलामा के सकियो वा के आवश्यक प¥यो याद गरेर बस्छिन् । सकिएका चिजबिज कोठाबाट ल्याउँछिन् । छोरा छोरीका अभिभावक बनिसकेका सेरुवा वडको सफलताका कथाले चाहना भए आफ्नै देशमा बसेर केही गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ ।