धनगढी, १३ पुस । कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य योजनाकार भएको प्रहरीको निश्कर्ष रहेको छ । आरोपित अमर भन्ने शुकदेव राना पक्राउ परेका छन् । उनी धनगढी उपमहानगरपालिकाका हुन । उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
घटना भएको अढाई महिनापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको गत कार्तिक १ गते निर्मम हत्या भएको थियो । हत्याको आरोपमा यसअघि, आठ जना पक्राउ परिसकेका छन् ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।
यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। तर मुख्ययोजनाकार भनिएका एक जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको थिएन।