धनगढी, १२ पुस
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
सेसी, आरडिआरसीको सहयोग तथा धनगढी उप–महानगरपालिकाद्धारा आयोजित स्थानीय सरकारका कर्मचारीका लागि आईएमएस, जेएमएस, एआईएमएस, ई–सिफारिस, म्यासेजिङ्ग सिस्टम र मोवाईल एप सम्वन्धी तालिममा बोल्दै नगरप्रमुख वडले सो कुरा बताएका हुन । नगरप्रमुख वडले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
धनगढी उप–महानगरपालिकाले गरेका हरेक गतिविधीहरु वेभसाईट, आईएमएस धनगढी एप, हाम्रो धनगढी पार्टल, ई बुलेटिन र फेसबुक पेजमा राख्ने गरेको छ नगरप्रमुख वडले भने, ‘हरेक नगरवासीलाई प्रयोग गर्न सिकाउनुपर्छ ।’ उप–महानगरपालिकाले गर्ने गरेक कार्यक्रममा नागरिक सहभागिता बढाउन नगरप्रमुख वडले कर्मचारीहरुलाई निर्देशन दिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएका सुशासनका टुल्सहरुको बिषयमा नगरवासीलाई जानकारी दिनुपर्ने बताईन । उनले भनिन्, ‘प्रयोगमा ल्याईएका टुल्सहरुको बढी भन्दा बढी प्रयोग गर्न सकेमा सुशासनलाई टेवा पुग्छ ।’
ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दिर्घराज उपाध्यायले धनगढी उप–महानगरपालिकाले सुशासन र पारदर्शिताका लागि नमुना कामहरु गरेको बताए ।