धनगढी, ११ पुस/ कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । शनिबार आयोजित एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाटबजारको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वडले हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउने बताए । उनले हाटबजार विक्री केन्द्र मात्रै नभई संकलन केन्द्रका रुपमा पनि रहने बताए । हाटबजारसंगैे कोल्ड स्टोर पनि संचालनको तयारीमा रहेकोले यसले किसानहरुलाई निकै फाइदा पुग्ने बताए । उनले फूलबारी हाटबजारलाई प्रदेशकै नमुना हाट बजार बनाइने बताए । किसानको उत्पादनले बजार नपाएर बारीमै उत्पादन मर्ने अवस्थामा घर आगनमै हाटबजार सञ्चालन भएपछि त्यो चिन्ता टरेको उनको भनाई छ । हाटबजार संचालनमा आएपछि यस क्षेत्रमा कृषिक्षेत्रको बिकासमा टेवा पुग्ने धनगढी उपमहानगरपालिका–१८का वडा अध्यक्ष मुरारी अधिकारीले बताए ।
हाटबजार सञ्चालनमा आएपछि किसानहरु उत्साहित भएका छन् । हाटबजार सञ्चालनमा आएसँगै वडा नम्बर १४, १८, १९ का अन्य वडा र कैलारी गाउँपालिका स्थानीयलाई सहजता हुने अपेक्षा गरिएको छ । बिगतका वर्षहरुमा तरकारी उत्पादन गरेपनि बजार नपाउँदा समस्या हुने गरेको थियो । अब त्यो बाध्यता अन्त्य भएको धनगढी उपमहानगरपालिका १९ का स्थानीय दिपेन्द्र पोखरेलले बताउँछन् । यहाँ संकलन भएका उत्पादन बजारसम्म पुर्याउन पनि सहज हुने उनको भनाई छ । किसानले उत्पादन गरेको तरकारीहरु सुपथ मूल्यमा बिक्री गर्न हाटबजारले सहयोग पुग्ने हाटबजारका अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए ।
घर आँगनमै हाटबजार सञ्चालनमा आएपनि किसानहरु पनि तरकारी खेतीतर्फ लाग्न उत्साहित भएको उनको भनाई छ । किसानलाई मात्रै होइन हाटबजार सञ्चालनमा आएपछि उपभोक्तालाई पनि सहज भएको धनगढी उपमहानगरपालिका १८ का अर्का स्थानीय खेम आचार्यले बताए । उनले सानो क्षेत्रफलमा लगाएर पनि किसानले तरकारी बिक्री गर्न सक्ने बताए । सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाट बजारले २०६५ सालमा हाट बजार सञ्चालनको तयारी गरेको थियो । बिभिन्न समस्याका कारण अधुरो रहेको योजना १३ वर्ष पछि पुरा भएको हो । निर्वाचनको समयमा प्रत्येक वडाहरुमा कृषि तथा पशु हाटबजार सञ्चालन गर्न योजना बनाएको धनगढी उपमहानगरपालिकाले आफ्नो योजना पूरा गरेको जनाएको छ । हाटबजारका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बिभिन्न अगुवा किसानहरुलाई सम्मान पनि गरिएको थियो ।