धनगढी, ७ पुस/ पुर्व सामाजिक विकासमन्त्री दिर्घ सोडारीमाथि गरिएको कारवाही फुकुवा भएसंगै मन्त्री बन्ने चर्चा सुरु भएको छ । केन्द्रको राजनितिक फेरबदल प्रदेश तहमा पुगे प्रदेश सरकारमा हेरफेर हुने निश्चित छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ । सात मन्त्रीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा मात्रै ओली पक्षका छन् । ओली पक्षका एक जना मात्रै भएपछि मन्त्री बोहराको पद धरापमा परेको छ ।
उनको मन्त्री पद धरापमा परेसंगै भौतिक पूर्वाधार विकास मन्त्रीमा सोडारीको चर्चा सुरु भएको हो । तत्कालिन सामाजिक मन्त्री सोडारी माधव नेपाल पक्षधर भएकै कारण कारवाहीमा परेका थिए । उनलाई आज बसेको प्रचण्ड नेपाल समुहको बैठ्कले कारवाही फुकुवा र नेकपा कैलाली अध्यक्षको जिम्मेवारीमा फर्काएको छ ।
सोडारी अध्यक्षमा पुनर्बहाली भएसंगै मन्त्री बन्ने निश्चित देखीएको छ ।
प्रदेश सभामा ५३ सदस्यमध्ये ३९ नेकपा, १२ नेपाली काँग्रेस र दुई जना प्रदेश सभा सदस्य जनता समाजवादी पार्टीका छन् । ३९ जना प्रदेश सभा सदस्य रहेको नेकपामा ओली पक्षमा एक मन्त्रीसहित तीन जना मात्रै स्पष्ट खुलेर लागेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, प्रदेश सभा सदस्य रतन थापा र नेपालु चौधरी मात्रै खुलेरै ओली पक्षमा लागेका छन् ।