धनगढीः कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा प्रदर्शन गरिएको छ। राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका युवाले प्रधानमन्त्रीको कदम राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेका हुन्।
धनगढी चौराहामा ओलीविरुद्ध नाराबाजीसहित पार्कमोड पुगेर कोण सभा आयोजना भएको थियो ।
कोणसभामा युवा संघका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीले ‘कु’ गरेको भन्दै राष्ट्रघाती कदमविरुद्ध भोलिदेखि कडा रुपमा सडकमा उत्रिने बताएका थिए।
यस्तै आजै धनगढीको ओम प्यालेसमा ओली गुटका कार्यकर्ताको कडा सुरक्षाबीच भेला आयोजना गरिएको छ। भेलामा युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रदेश पार्टी अध्यक्ष कर्ण थापालगायत नेता कार्यकर्ताको सहभागिता छ।
पूर्वआयोजित भेलामा सहभागी हुन विभिन्न ठाउँबाट आएका युवाले मोटरसाइकल र्यालीसहित ओलीको पक्षमा नारा बाजी गर्दै प्रदर्शन गरेका थिए। राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि धनगढीमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा प्रदर्शन भएको हो।