डोटी, ३ पुस – प्रवासमा बस्दै आएका एक नेपाली नागरिकले आफ्नो जन्मभूमिका बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् । डोटीका जोरायल
गाउँपालिका–५, मनोहर बजार गडसेरा घर भई भारतको वृन्दावनमा बस्दै आएका ढुण्डीराज ओझा ‘राजकमल’ ले जाडोमा स्कुले बालबालिकालाई न्यानो कपडा वितरण
गरेका हुन् ।
आफूले बाल्यकालमा अध्ययन गरेको मनोहर बजारस्थित नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उनले स्वीटर वितरण गरेका हुन् । विद्यालयमा कक्षा शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत ६० जना बालबालिकालाई उनले जाडोमा स्वीटर वितरण गरेका हुन् । वृन्दावनमा बन्दै आएका राजकमलले विगत ७ वर्षदेखि निरन्तररुपमा हरेक वर्ष नवज्योति आधारभूत विद्यालयका बालबालिकालाई शिक्षा सामग्री, जुत्ता चप्पल, स्कुल झोला तथा न्यानो कपडाहरु निःशुल्क वितरण गर्दै आएका छन् ।
‘आफूले बाल्यकालमा गाउँले जीवनको पीडा सहँदै सोही विद्यालयमा अध्ययन गरेको हुँ,’ उनले भने,‘त्यहाँका बालबालिकाको वास्तविक पीडा मसँग पनि भएका कारण उनीहरुको पीडामा मल्हम लगाउन मैले हरेक वर्ष केही न केही सहयोग गर्दै आएको छु ।’
जन्मभूमिप्रति आफूले गर्नुपर्ने कर्तव्य भएका कारण हरेक वर्ष यहाँका विद्यार्थीहरुलाई सक्दो सहयोग गर्दै आएको उनले बताए । ओझा भगवान् श्रीकृष्णको जन्मभूमि वृन्दावनमा नेपाली मित्रसमाज परिषद्का अध्यक्ष समेत हुन् ।
