धनगढी,३ पुस: कैलाली चुरे गाउँपालिकाका पहिरो पीडित एक साता देखि त्रिपालमुनि बस्न बाध्य भएका छन् । सरकारले व्यवस्थापन नगरेपछि जिल्लाको गौरी गङ्गा नगरपालिका १ स्थित राष्ट्रिय वन क्षेत्रमा उनीहरू बसिरहेका हुन् । उनीहरुको चित्कार अझै कुनै सरकारले सुनेको छैन । झन्डै एक सय बढी परिवारको अहिले जङ्गलको बास भएको छ ।गत साउन १५ देखि २५ गतेसम्म पहिरो खस्दा वडा नम्बर १ देखि ६ नम्बर सम्मका गरेर २११ घर परिवार प्रभावित भएका थिए ।
पहिरो गएको ६ महिना बितिसक्दा समेत दिगो व्यवस्थापन नगरेपछि जङ्गलमा बस्न बाध्य भएको पहिरो पीडित विजित बोहराले बताए । पहिरो गएको एक÷दुई हप्ता त्रिपाल, केही खाद्य र भाडाहरू पाएनि त्यसपछि व्यवस्थापनमा चासो नदिएको उनको आरोप छ । बोहराको ९ जनाको परिवार छ । ३ जना जङ्गलमा बास बस्न बाध्य छन् भने ६ जना भत्केकै घरमा जोखिम मोलेर बसिरहेका छन् ।
‘पहिरो आए पनि भिदत्तराज मार्ग छेउमा बस्दै आएका थियौँ’ पहिरो पीडित अर्जुन धामीले भने ‘सडक छेउमा पनि बस्न नदिएपछि यहाँ आएका हौँ ।’जङ्गलमा रात कटाउन थालेको एक साता सम्म पनि कसैले चासो नदिएको उनी बताउँछन् ।
पहिरो पीडित नागरिकहरूले व्यवस्थापनको लागि भन्दै संघर्ष समिति समेत गठन गरेका छन् । तर, पनि सरकारले चासो नदिएको उनीहरूको गुनासो छ ।
‘तीनै तहको सरकारले हाम्रो व्यवस्थापनमा चासो दिएन’ पहिरो पीडित सघर्ष समितिका अध्यक्ष टिकाराम कार्कीले भने ‘अहिले घना जङ्गलमा चिसो सहेर रात काट्न बाध्य छौँ ।’उनले बन क्षेत्रबाट पनि अन्यत्र जान भनेपछि थप समस्या भएको बताए । ‘वन कार्यालयले शुक्रवार भित्रै वन छोड्न निर्देशन दिएको छ’ उनले भने ‘अहिले त हामी घर न घाँटको भयौँ ।’
सुरुमा चुरे गाउँपालिकाले राहतको लागि पहल गर्ने भन्दै सडक छेउबाट हटाए पनि त्यसपछि गाउँपालिकाले पहल नगरेको उनीहरूको गुनासो छ ।
उता चुरे गाउँपालिकाले भने अहिले पनि पहिरो पीडितहरूको व्यवस्थापनका लागि पहल भइरहेको दाबी गरेको छ । एक्लो प्रयासले उनीहरूको व्यवस्थापन गर्न सम्भव नभएको गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले बताए ।
‘उनीहरूको व्यवस्थापन गाउँपालिकाले एक्लै गर्न सक्दैन त्यसैले माथिल्लो निकायमा पहल गरिरहेको छ’ गाउँपालिकाका अध्यक्ष रोका मगरले भने । उनीहरूको उचित व्यवस्थापनका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारलाई समेत जानकारी गराइएको उनले बताए ।
चुरे गाउँपालिकाका १ देखि ६ वडा सम्मका करिब २११ परिवार अहिले पहिरोबाट विस्थापित भएका छन् । ती मध्ये केही भत्किएकै घरमा जोखिम मोलेर बसिरहेका छन् भने केही गाउँबाटै विस्थापित भएका छन् ।
अहिले गौजना, बगेडी, तल्लो गौजना, गुन्डी, तितरे, बसडी र सिस्नेरी गाउँका नागरिक ६ महिना सम्म पनि घर फर्किन सकेका छैनन् ।