सुर्खेत २ पुस : सुर्खेत विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ४५ प्रतिशत रकम कर्णाली प्रदेश सरकारले र ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने भएको छ । बाकि ५० प्रतिशत संघीय सरकारले व्यहोर्ने यस अघि नै निर्णय भैसकेको छ ।
बुधवार विमानस्थल विस्तार तथा स्तरोन्नतिका सम्बन्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठककले यस्तो निर्णय गरेको हो ।
केहि महिना अघि संघीय सरकार र प्रदेश सरकार बिच सुर्खेत विमानस्थल विस्तारको लागि संघीय सरकार र प्रदेश सरकार विच सम्झौता भए सँगै विमानस्थल विस्तारको कामले तिव्रता पाएको हो ।
बुधवार विमानस्थल विस्तारको लागि बसेको बैठकले सुर्खेत विमानस्थललाई सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोच सहित हाललाई १५५५ मीटरको धावनमार्ग र रात्रीकालिन उडान गर्न सकिने विमानस्थलका विकास एवं विस्तार गर्ने बैठकले निर्णय गरेको छ ।
विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण क्षेत्रफल र तीन पुस्ते यथासिघ्र तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउनको लागि बैठकले प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
सुर्खेत विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षिय समिति गठन गर्ने र जग्गा प्राप्ति प्रकृया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याकन समितिको बैठक आब्हान गरी कामलाई अघि बढाउनको लागि बैठकले निर्देशन दिएको छ ।