धनगढी, पुस १/ नेपाली काँग्रेसका नेता गगन थापाले पार्टी सभापति तथा शीर्ष नेताहरूलाई संसद अधिवेशनका लागि आजै निवेदन दिन आग्रह गरेका छन् । पार्टीका शीर्ष नेताकाे बैठक जारी रहेका बेला थापाले बुधबार ट्वीट गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘पार्टी बैठकमा हामीले भनेका थियौँ;बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ।’
यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको थापाकाे भनाइ छ।
‘आज बैठक बस्दै हुनुहुन्छ, पार्टी सभापतिलाई फेरि विनम्र अनुरोध !संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ,’ थापाले भनेका छन् ।
उपसभामुख बिनाको संवैधानिक परिषद् बैठक अस्वीकार गर्न पनि उनकाे आग्रह छ । थापाले संसद र सडकबाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्नेमा जाेड दिए ।