धनगढी, २६ मंसिर – ‘जो चोर उसैको ठूलो स्वर’ यो नेपाली उखान हो । उखान उखानमा मात्रै हैन वास्तविकतामा पनि चरितार्थ देखाउँछ । हो, धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.का अध्यक्ष रमेश विश्वकर्मासँग यो नेपाली उखान ठ्याक्क मिलेको छ ।
मंसिर १६ गते बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष रमेश विश्वकर्मासहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा दायर गरेको थियो । उनीहरुले धनगढी बसपार्कमा बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिका नाममा सोझा साझा नेपालीलाई भारतका विभिन्न सहरमा पु¥याइदिने भन्दै टिकट काटेर भारतको पलिया तथा पुनामा अलपत्र छाडेका थिए ।
भारतको पलियामा अलपत्र छाडिएका १ सय ३० जना मजदुरहरु राति १ बजेको समयमा पुनः नेपाल फर्केपछि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिको ठगी धन्दा बाहिर आएको थियो । सोही ठगी धन्दाका बारेमा धनगढीका पत्रकारहरुले समाचार बाहिर ल्याएपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको चासोमा जिल्ला प्रहरी कार्यालय कैलालीले ट्रभल्स सञ्चालक समितिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा चलाएको थियो । मुद्दा चलाएको सात दिनपछि धरौटी रकममा छुटेका चारै जनामध्येका ट्राभल्सका अध्यक्ष रमेश विश्वकर्माले प्रहरीबाट छुटेकै दिन सामाजिक सञ्चालमार्फत् पत्रकारलाई गाली गलौच गरेका छन् ।
हेर्नुस् हिरासतबाट छुटेपछि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिका संचालक रमेश बिश्वकर्माको समाजिक सञ्जाल फेसबकुमा पत्रकारलाई पोखेको आक्रोश

बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिले सोझा साझा नेपालीहरुलाई ठगी गरेको समाचार प्रकाशित तथा प्रशारण गरेका सञ्चारकर्मीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका छन् । सार्वजनिक हित विरुद्धको मुद्दामा धरौटीमा छुटेको दोस्रो दिन उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सञ्चारकर्मीलाई हवाला दिँदै लेखेका छन् –‘वास्तविकता नबुझेर, पैसा खाएर न्युज बनाउने पत्रकार मिडियालाई असल भन्ने कि ठग ।’ जबकी उनी आफैले सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनलाई सार्वजनिक हित विरुद्धको मुद्दा लागिसकेको छ । आफूलाई आफैले सफाइ दिन उनले सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ ।
यस्तो थियो बर्दादेवीको ठगी धन्दा
घटना –१
कैलाली टीकापुरका कृष्ण काफ्ले भारतको पुनामा रोजगारीका लागि जाँदै थिए । उनी धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट काटेर भारत छिरेका हुन् । धनगढीबाट मंसिर १५ गते सोमबार बेलुकी ४ बजे हिँडेका उनलाई राति ११ बजे भारतको पलियाबाट पुनाका लागि लगियो । गन्तव्यमा नपुग्दै उनलाई ट्राभल्स एजेन्सीले मंगलबार राति पौने ३ बजे इन्दोरमा अलपत्र छाडेको हो । इन्दोरबाट पुना पुग्न अझै १४ घण्टाको यात्रा तय गर्नुपर्छ । ट्रभल्स एजेन्सीबाट टिकट काटेर गएका १ सय १० जना इन्दोरमै अलपत्र परेका हुन् ।
घटना–२
धनगढी बसपार्कमा रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका १ सय ३० जना यात्रुलाई मंसिर १५ गते सोमबार राति १ बजे गन्तव्यमा पुग्न नपाउँदै नेपाल फर्के । उनीहरुलाई गन्तव्यमा पु¥याउने भन्दै धनगढीबाट ४० किलोमिटर टाढा रहेको भारतको पलियामा पु¥याएर अलपत्र छाडिएको थियो । पलियामा अलपत्र छाडिएपछि उनीहरु १५ गते सोमबारका दिन राति १ बजे धनगढी फर्केका थिए । ट्राभल्स एजेन्सी रहेको न्यू अछाम नेशनल गेष्ट हाउस अगाडि रातभर चिसोमा बसेका थिए ।
घटना–३
गौरीगंगा नगरपालिका–८, लिक्मा गाउँका पूर्णबहादुर साउँद मंसिर ५ गते धनगढीबाट भारतको बैंङ्गलोर जान हिँडे । धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाटै टिकट लिएर भारत गएका उनलाई दुई दिन बीच बाटोमै अलपत्र छाडियो । उनीसँगै बैंङ्गालेर, मुम्बई र रत्नागिरी हिँडेका ६५ जना बीचबाटोमै अलपत्र परे । उनीहरुलाई ट्रभल्स एजेन्सीले भारतको पुनास्थित बाउदानमा अलपत्र छोडेर एजेन्सीका सम्पर्क व्यक्ति फरार भए । ट्राभल्स एजेन्सीले बाटोमै अलपत्र छाडेपछि साउँदसँगै बैंङ्गलोर जाने ३३ जना ४२ घण्टापछि पुनः अर्को गाडीमा टिकट काटेर गन्तव्यमा हिँडे ।
घटना–४
सोही ट्राभल्सले मंसिर ७ गते धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाड्यो । ७ गते बेलुकी धनगढीबाट बैंङ्गलोरका लागि गएका यात्रुहरुलाई भातरको पलियानजिकै ७ किलोमिटर दक्षिण भीराको एक होटलमा लगेर बन्दक बनाइएको थियो । उनीहरुलाई कुटपिट गर्न थालिएपछि पलियाबाट ज्यान जोगाइ ७ गते राति ९ बजे धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमै २३ जना यात्रु फर्किएका थिए । उनीहरुले ८ गतेका दिन दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा गएर आफूहरुको पैसा असुल गरिदिन माग गरेपछि प्रहरीले ट्राभल्स एजेन्सीलाई पैसा फिर्ता गर्न निर्देशन दिएको थियो ।