धनगढी, २५ मंसिर/ जिल्ला सहकारी संघ लिमिटेड कैलालीले बिहीबार धनगढीमा सल्लाहकारको पदस्थापन तथा स्वागत गरेको छ । जिल्ला सहकारी संघ लिमिटेडको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै स्वागत तथा पदस्थापन गरेको हो ।
जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणिराज सापकोटाले सल्लाहकारहरुलाई अविर, फूलमाला र खादा ओढाई स्वागत गरेका हुन् । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष भूपेन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा सल्लाहकार सदस्य प्यारेलाल रानाले सहकारीको विकासका लागि आफूहरुका तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए । यस्तै कानुनी सल्लाहकार वीरबहादुर जेठाराले सहकारीलाई सरकारले सम्बन्धित क्षेत्रका विषयमा सहयोग गर्दै अगाडि बढाउनु पर्ने राय सुझाएका थिए ।
स्वागत तथा पदस्थापन कार्यक्रममा बोल्दै सल्लाहकारका संयोजक भोजबहादुर बमले आगामी दिनमा प्रदेश सरकारले सहरकारीको दायरा फराकिलो बनाउँदै सुदूरपश्चिम प्रदेशमा किसानलाई समस्या पर्दै आएको मल, बिउबिजन तथा खाद्यान्न खरिदका लागि नीति परिमार्जन गरी जिल्ला सहरकारी संघमार्फत वितरण गर्न सुझाव दिए ।

उनले भने,‘यदि प्रदेश सरकारले किसानलाई सहज रुपले मल तथा विउबिजन उपलब्ध गराउन अधिकार दिएमा हामी कैलालीमा मात्रै नभई समग्र सुदूरपश्चिममा समयमै मल तथा बिउबिजन पु¥याउन सक्छौँ ।’ यसका लागि प्रदेश सरकारले नीति बनाएर सहकारीलाई अधिकार दिनुपर्ने उनले सुझाए ।
कार्यक्रममा सल्लाहकार संयोजक भोजबहादुर बम, प्यारेलाल राना, हरि श्रीपाइली, रणबहादुर चन्द, गणेश ओझा, तुंगराज हमाल, शान्ति सिंह शाही, हेमबहादुर बम, लालबहादुर देउवा र कानुन तथा सूचना सञ्चार समन्वय समितिका वीरबहादुर जेठारा र पुष्पराज जोशीको सहभागिता रहेको थियो ।