धनगढी, २४ मंसिर/ महिलामाथि घट्ने विभिन्न हिंसा तथा घटनाबाट जोगिनका लागि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ ।
नगरपालिका भित्र रहेका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका कम्तिमा पनि दुई सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । ‘एक्लै भएको समयमा बलात्कृत लगायतका घटनाबाट जोगिनका लागि हामीले विभिन्न संस्थाको सहयोगमा आत्मरक्षा तालिम शुरु गरेका छौँ’, उनले भने ।
किशोरीमाथि हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक तालिम दिन शुरु गरिएको जिल्ला खेलकुद विकास समिति डोटीका प्रमुख तथा तेक्वान्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए ।
अहिले जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा उक्त तालिम दिन शुरू गरिएको छ । छ वटा सामुदायिक बिद्यालयमा कक्षा १० तथा कक्षा ९ का गरि प्रत्येक विद्यालयबाट ४० जनालाई उक्त आत्मरक्षा तालिम दिइने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।
दुई वटा विद्यालयमा नगरपालिकाले र चार वटा विद्यालयमा सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीले तालिमको लागि सहयोग गर्ने सीडीसीका सामुदायिक विकास परियोजनाका शिक्षा विकास अधिकृत एकराज बडूले जानकारी दिए ।