धनगढी, २४ मंसिर: सरकारले नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक लगाउँदा समस्या भइरहेको भन्दै कैलालीका निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । नदीजन्य पदार्थमा रोक लगाईदा निर्माणाधिन परियोजनाहरुमा ढुंगा, बालुवा तथा गिट्टीको अभाव सृजना भएको छ । गृहमन्त्रालयले नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक लगाउँदा निर्माण कार्यमा समस्या भएको भन्दै कैलालीका निर्माण व्यबसायीहरुले चाडै खोल्न माग गरेका छन् ।
गिट्टीबालुवाको चरम आभाव भएकोले निर्माण परियोजनानै ठप्प हुने अवस्था आएको निर्माण व्यबसायी संघ कैलालीले जनाएको छ । अभाव भएपछि निर्माण सामग्रीको मुल्य समेत दोब्बर बनाएर कालोबजारी मौलाएको निर्माण ब्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय बताए ।
नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरण यथाशिघ्र सुचारु गर्न निर्माण ब्यवसायी संघले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको भएपनि हाल सम्म सुनुवाई भने नभएको जनाएको छ । नगर सरकारले गरेको टेन्डर आह्वानमा ७÷८ वडा निबेदन परेकोमा सम्झौता गर्न नसकिएको भएपनि नगरपालिकाले अमानतमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको बेला सरकारको नया मापदण्ड तथा उत्खनन् बन्द गर्नु पर्ने गृह मन्त्रालयको परिपत्र अनुसार हाल प्राकृतिक श्रोत उत्खनन्का सबै काम बन्द रहेको धनगढी उप महानगरपालिकाका प्रबक्ता सन्तोष मुडभरीले बताए ।
तर यता कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सरकारले नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक लगाएको नभई नया मापदण्ड ल्याएकाले समस्या सृजना भएको बताए । गृहको परिपत्र अनुसार जिल्लामा अनुगान समिती निर्माण गरी नदिजन्य पदार्थ उत्खनन्को अवस्था तथा क्रसर उद्योगहरुको पनि अनुगमन गरि मन्त्रालयमा रिपोर्ट पठाउने उनको भनाई छ ।
सरकारले नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक लगाएको एक पक्षको भनाई छ भने यसमा रोक लगाएको नभई मापदण्ड थप कडा बनाएको अर्को पक्षको धारणा बनाउदै आएका छन् ।