धनगढी, १९मंसिर/ बझाङकी १२ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा पुनः पक्राउ परेका छन् ।
कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका उनी गएराति १२ बजे भागेका थिए । फरारपछि खोजी तीव्र पारिएकोमा उनलाई आज बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।
‘अस्पतालको आइसोलेसनबाट बोहरा भागेका हुन् । तर, फेरि हामीले उनलाई पक्राउ गरिसकेका छौँ,’ डीआईजी सुवेदीले भने, ‘किशोर भएका कारण उनलाई कारागार राख्न मिल्दैन । उनको स्वभाव अस्वभाविक छ । उनको मानसिक अवस्थासमेत बिग्रेको जस्तो छ ।’
त्यस्तै, आइसोलेसनमा उनको निगरानीका लागि खटिएका तीन जना प्रहरीलाई पनि निलम्बन गरिएको डीआईजी सुवदीले जानकारी दिए ।
१६ वर्ष भएका कारण बोहरालाई जिल्ला कारागारबाट बाल सुधार गृह डोटीमा राखिएको थियो । कोराना पुष्टि भएपछि बालसुधार गृहकै अस्पतालको आइसोलेनमा राखेको बेला उनी गएराति अस्पतालबाटै भागेका थिए ।
