धनगढी, १८ मंसिर/ घटनाका मुख्य योजनाकार भनिएका ३० वर्षीय सुकबहादुर राना अझै फरार रहेका छन् । उनी धनगढी उपमहानगरपालिका–१० चकमेलीवासी हुन । उनको खोजीकार्य जारी राखे पनि अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
सुकबहादुर रानाले २०१८ सम्म अमर रानाका नामबाट फेसबुक चलाएको पाइएको छ । उनको आफ्नो नाममा फेसबुक आईडी छैन । उनी लामो समयदेखि भारतको बनकट्टी र सरियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ ।
भारतमा जे कुराको माग छ । उनले स्थानीय व्यापारीसंग मिलेर त्यो सामान भारत पठाउथे । चकमलीमा उनको गोदाम छ । भारत पठाउने सामान गोदाममा जम्मा गर्थे । र त्यहाँबाट रातिको समयमा भारत पठाउथे ।
स्रोतले भन्यो, देशमा नाकाबन्दी हुदा होस वा लकडाउन हुदा होस उनको यो अबैध धन्दामा कहिल्यै असर परेन । किनकी उनी सीमामा प्रहरीसंग लाईन मिलाएर निर्बाध रुपमा अबैध धन्दा गरिरहे ।
पछिल्लो पटक उनले मटर ९केराउ० को तस्करीमा हात हाले । त्यही मटर कार्तिक १ गते राति उनी भारत पु¥याउँदै आएका थिए । सोही क्रममा प्रहरी हत्या भएको थियो ।
पक्राउ परेका ८ अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान
दुई जना प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका आठ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
कैलाली जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतको आदेशमा अभियुक्त आठै जनालाई कारागार चलान गरिएको हो ।
उनीहरु धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्याको आरोपमा पक्राउ परेका थिए ।
हत्याको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का चोर भनिने ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, पर्कु भनिने ३१ वर्षीय रोहित राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, रोहित रानालाई पुर्पक्षका लागि कारागार चलना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
यसैगरी, २२ वर्षीय रामनिवास राना, टल्लु भनिने २९ वर्षीय दलराम राना र गोपाल भन्ने २५ वर्षीय रामगोपाल रानालाई पनि कारागार चलान गरिएको छ । घटना लगत्तै प्रहरीले उनीहरु सबैलाई पक्राउ गरेको थियो ।
नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्या भएको थियो । तस्करहरुले कात्तिक १ गते राति दुवै प्रहरीको हत्या गरेर शव मोहना नदीमा फालेका थिए ।
प्रहरी सहायक निरीक्षक विकको शव घटनाको भोलिपल्ट विहानै फेला परे पनि जवान साउँदको शव भने दुई दिनपछिमात्रै मोहना नदीमा पानीभित्र गाडिएको अवस्थामा फेला परेको थियो ।
जुगेडा अस्थायी प्रहरी पोष्टका इन्चार्जको रुपमा विक खटेको दुई महिनामात्रै भएको थियो भने जवान साउँद पहिलेदेखि सो ठाउँमा खटिएका थिए ।
नेपालबाट भारतमा केराउ (मटर) तस्करी गर्ने तस्करले प्रहरीको हत्या गरेका पुष्टि भएको थियो । तस्करीमा अवरोध भएपछि तस्करहरुले प्रहरीको हत्या गरेको प्रहरी निष्कर्ष छ ।
मटर व्यापारी गुप्ता धरौटीमा रिहा
सो घटनाका मतियार भनिएका केराउ व्यापारी धनगढी उपमहानगरपालिका–५ का राजिव गुप्ता भने धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।
कात्तिक १९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । व्यापारी गुप्ता एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार रायभान कुञ्जेडाले जानकारी दिए ।
‘घटनामा संलग्न भनिएकामध्ये आठ जना पुर्पक्षका लागि कारागार चलान, एक जना धरौटीमा रिहा भएका छन्’, उनले भने ।
‘सोही घटनामा संलग्न एक जना भने फरार छन् ।’ सबैलाई कर्तव्य ज्यान मुद्दा लगाइएको कुञ्जेडाले जानकारी दिए ।