धनगढी ,१६ मंसिर/ भारतको पलियामा नेपालीहरु लाई अलपत्र छोड्ने चार जना पक्राउ परेका छन् । बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.का सञ्चालक सहित चार जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।
न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट दिएर भारत पठाएका नेपालीहरुलाई पलियामै अलपत्र छाडिएपछि मंगलबार बिहान १ बजे १३० जना यात्रु धनगढी फर्केका थिए । रोजगारीका लागि भन्दै भारतका विभिन्न जान हिँडेका उनीहरुलाई धनगढीबाट बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीले लगेर भारतको पलिया सहर नजिकै शारदा व्यारेजमा अलपत्र छाडेको थियो ।
अलपत्र परेका नेपालीहरु धनगढी फर्किएपछी जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूहरुलाई ठगी गरेर अलपत्र पारेको भन्दै ट्राभल्स एजेन्सीविरुद्ध उजुरी दिएका थिए । अलपत्र छाडेपछि नेपालीहरु मंगलबार बिहान १ बजे सार्वजनिक बस रिर्जव गरेर पलियाबाट सीमा क्षेत्र गौरीफन्टा पुगेका थिए ।
गौरीफन्टाबाट उनीहरु बिहानको १ बजे हिँडेर धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्सको टिकट काउन्टर न्यू अछाम नेशनल गेष्ट हाउसमा पुगेका थिए । गेष्ट हाउस अगाडि रातभर चिसोमा बसेका उनीहरु मंगलबार बिहान भने जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
अलपत्र परेका नेपालीहरु दिएको उजुरीको आधारमा ट्राभल्स प्रा.लि.का सञ्चालक सहति चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले बताए । उनले सरकारी वकिलसँग सल्लाह गरेर कानुनी दायरामा ल्याउने बताए । उनले भने,‘हामी यस विषयमा सरकारी वकिलसँग सल्लाह गर्दैछौँ, सोही अनुसार कानुनी कारबाही अगाडि बढाउँछौँ ।’
यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए । मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र छाडेको थियो ।
https://www.sudurpatra.com/2020/12/01/27187/
