धनगढी, १६ मंसिर/ कैलालीमा टिप्पर र कार एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। पुर्वपश्चिम राजमार्ग अन्तरगत अत्तरियामा मंगलवार बिहान बा १४ च ७२७८ नम्बरको कार र से १ क १००२८ नम्बरको टिप्पर एकआपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आइरहेको टिप्पर ठोक्किदा कार चालक काठमाडौँको शंकरापुरका ४१ वर्षीय बिद्यमान श्रेष्ठ सहितका ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।
दुर्घटनामा परी घाइते हुनेमा काठमाडौँकै लैनचौर बस्ने ३६ वर्षीय बिक्रम महर्जन, काभ्रेको बनेपा बस्ने ३२ वर्षीय हरीगोपाल श्रेष्ठ र बीरगञ्जका २८ वर्षीय अविरन्द चौरसिया रहेका प्रहरी निरीक्षक थापाले बताए ।
घाइते चारैजनाको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । टिप्पर सहित चालक दिनेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।