धनगढी, १५ मंसिर/ बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजीश्रोतका शिक्षकहरुले गाउँपालिकालाई २४ घण्टे अल्टिमेटम दिएका छन् । निजीश्रोत शिक्षक संघर्ष समितिले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको निजीश्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिनुभयो ।
२०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि २०७५ लागु हुनुपर्ने, दशैं भत्ता, पोसाक भत्ता लगायतका सुविधाहरुलाई आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐन अनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरुको तलबभत्ता निकास गर्नुपर्ने आफूहरुको माग रहेको अध्यक्ष चन्दले बताउनुभयो ।
गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका बिषयमा सुनुवाई नगरेमा आन्दोलनमा जाने निजी श्रोत शिक्षक संघर्ष समिति चेतावनी समेत दिएको छ । पटक पटक तलबभत्ताका बिषयमा गाउँपालिकाको ध्यानकर्षण गराउँदा समेत केही चासो नदिएको भन्दै शिक्षकहरु रुष्ट भएका छन् । सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा १९१ जना निजीश्रोतका शिक्षकहरु कार्यरत रहेका छन् । कोरोना भाईरसको महामारीकाबीच पनि आफूहरुको तलब निकासा नहुँदा साह्र्र्रै समस्या भएको उनीहरुले बताएका छन् ।

