महेन्द्रनगर १४ मंसिर- कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला क्षेत्रबाट नेपाली सेनाको टोलीले चार थान भरुवा बन्दुकसहित स्थानीय दुई जना बन्यजन्तु तस्करीमा संलग्नलाई पक्राउ गरेको छ ।यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन डिभिजन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले बेदकोट नगरपालिका–४ बगुनका ४९ बर्षीय तिलबहादुर बुच र स्थानीय ५० बर्षीय रामबहादुर बराललाई पक्राउ गरेको छ ।
बन्यजन्तुको संरक्षण र चोरीशिकारी न्युनीकरणका लागि निकुञ्जमा राखिएका स्पाइ क्यामेरामा दुवै जना तस्कर केही समयअघि कैद भएको र सोही क्यामेरा फुटेजका आधारमा सेनाले विशेष अप्रेसनमार्फत अभियुक्त र हतियारसहित पक्राउ गरेको देवीदल गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सुनिल मल्लले जानकारी दिए ।“ निकुञ्जमा राखिएका स्पाइ क्यामेराको सहायताले दुवै जना अभियुक्तलाई निकुञ्ज र वन कार्यालयको समन्वयमा छेला क्षेत्रबाट पक्राउ गरेका हौं ।” गणपति मल्लले भने–“ थप अनुसन्धान र कारबाहीका लागि निकुञ्ज प्रशासनको जिममा लगाएका छौं ।”
सेनाको टोली अभियुक्तहरुलाई पक्राउ गरेपछि उनीहरुले दिएको बयानका आधारमा शनिबार नै छेलाको उत्तरतर्फको सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा हतियार भेटाएको हो ।त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले अभियुक्तहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको बताए।
उहाँले अभियुक्तहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ र हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गरिने जानकारी दिए।शुक्लाफाँटा निकुञ्जको सुरक्षार्थ खटिएको गणले निकुञ्जको चौतर्फी आफ्ना पोष्टहरु तैनाथ गर्नुका साथै मध्यवर्ती क्षेत्रमा पनि आफ्नो उपस्थिती बलियो बनाउँदै लगेको छ ।
उक्त विशेष अप्रेसनमा निकुञ्जबाट सहायक संरक्षण अधिकृत रविन चौधरी र गणबाट सह–सेनानी सन्देश सेनवलीको नेतृत्वमा टोली परिचालन भएको थियो ।