धनगढी, ११ मंसिर/ बिहीबार बिहानै धनगढी उपमहानरगपालिका–१४ फूलवारीमा रहेको एनएमवी बैंक अगाडी ज्येष्ठ नागरिकहरुकको निकै भिडभाड थियो । त्यो भिडभाड बिहान चार बजेदेखीनै सुरु भएको रहेछ ।
त्यही भिडमा बिहानको सित लहर र चिसोलाई वेवास्ता गर्दै ७५ वर्षीया लक्ष्मी रोकाया बैंकको ढोका छेउमै बसिरहेकी थिइन् । उनले आफु बिहान ४ बजेदेखीनै लाइन बस्न बैंक पुगेको सुनाइन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्न आफु बैंकको लाइनमा बस्न बिहानै आएको उनले बताइन् । ‘दशैं तिहारमा समेत भत्ता पाएनौं, उनले पिडा सुनाउदै भनिन् बैंकले कुपन दिएपछिमात्रै भत्ता पाइन्छ भन्ने सुनेपछि रातीनै आए ।’
हातमा लौरो समाती बैंकको ढोकामै बसेका ७० बर्षीय धुरराम चौधरीपनि बैकंले बिहानैदेखी भत्ता बितरण गर्ने सुनेपछि चार बजेनै लाइन लाग्न पुगेको रहेछन् । उनले भने–‘बिहानै कुपन दिन्छ भनेर चाडै आएको हुँ ।’
मंसिर लागेसंगै धनगढीमा सितलहर र चिसो बढेको छ तर सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक पुगेका ज्येष्ठ नागरिकलाई कुनै प्रवाह थिएन् । सिमेन्टको भूईमा बसेर बैंक खुल्ने प्रतिक्षा गरिरहेका थिए । हरेक दिन बिहानैदेखि बैंकमा यस्तै भिड लाग्ने गरेको बैंकका सुरक्षागार्डले सुनाए ।
रोकाया र चौधरीजस्तै ६२ वर्षीया लाली कठायत समेत बिहान चार बजेदेखि बैकं खुल्ने प्रतिक्षामा थिए । ‘दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ’ उनले भनिन् । उनिहरुसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैंक खुल्ने प्रतिक्षा गरिरहेका थिए ।
एनएमवी बैंक फूलवारी शाखाबाट धनगढी उपमहानगरपालिकाका १४, १८ र १९ नम्बर वडाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । उपमहानगरका बिभिन्न गाउँबाट झण्डै ७ किलोमिटर पैदल हिडेर ज्येष्ठ नागरिक आउने गरेका छन् ।
कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैंकले दैनिक ९० देखी ९५ जनालाई जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ । एनएमवी बैंक फूलवारी शाखा प्रमुख करन धामीले भिडभाडलाई कम गर्न बैंकले कुपन प्रदान गर्दै सेवा दिने गरेको बताए ।
‘हामीले बिहान ८ बजेदेखी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौ, ज्येष्ठ नागरिकहरु बिहानै आउछन् हामिले कसरी रोक्ने ?’ उनले प्रश्न गर्दै भने । ९० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैकंको ढोकामा लाइन बस्ने गरेका छन् ।
बैंकले उप–महानगरपालिकाका तीन ओटै वडाका झण्डै २३ सय भन्दाबढी ज्येष्ठ नागरिक र अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
यता धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष मुरारी अधिकारीले बैंकले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताए । उनले कञ्चन डेभलपमेन्ट बैंक र एनएमबी बैंक एक–आपसमा गाभिएकोले समस्या सिर्जना भएको बताए ।
उनले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैंकमा पठाइसकेपनि बैंकले वितरणमा ढिलाई गरेको उनको भनाई छ । उनले भने–‘बैंकले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर लापरवाही गरिरहेको छ ।’